मेनु
Flash News

‘जदौ’ले पहिलो दिनमै पायो दर्शकको उत्साहजनक साथ,देशभर करिब ५० शो


काठमाडौँ।बहुप्रतीक्षित नेपाली चलचित्र ‘जदौ’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।

लगातार वर्षा भइरहे पनि विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। चलचित्र हेरेर हलबाट बाहिरिएका दर्शकले यसको कथा, संवाद र गीतको प्रशंसा गर्दै ‘जदौ’ राम्रो बनेको प्रतिक्रिया दिएका छन्।

देशभरका हलमा करिब ५० शो पाएको चलचित्रको अग्रिम तथा तत्कालीन टिकट बुकिङसमेत भइरहेको जनाइएको छ। प्रदर्शनसँगै चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ।

केन्द्रीय चलचित्र जाँच समितिबाट ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको ‘जदौ’ सबै उमेर समूहका दर्शकले हेर्न सक्ने चलचित्र हो। २ घण्टा १० मिनेट १७ सेकेन्ड लामो चलचित्रलाई शान्ता पुडासैनीले निर्माण गरेकी हुन्।

चलचित्रमा नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।