मेनु
Flash News

‘शाही मनि ट्रान्सफर’मार्फत १ अर्ब ३ करोडको हुण्डी कारोबार गरेको आरोपमा धरानका शाही पक्राउ

धरान।सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएका ज्योति शाही रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि उनलाई पक्राउ गरेको हो।

शाहीलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिइएको थियो। त्यसपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान–५, खैरेनीबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा २०६८ भदौ १६ गते दर्ता भएको ‘शाही मनि ट्रान्सफर’को नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोली कारोबार गर्दै आएका थिए।

अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाका खातामार्फत १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार विदेशमा असम्बन्धित व्यक्तिले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने र उक्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट विभिन्न व्यक्तिका बैंक खातामा पठाउने गरिएको थियो।

यसरी ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाका खाताहरू प्रयोग गरी रकम स्थानान्तरण गर्ने कार्य हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाहीविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिए।

घटनामा संलग्न अन्य व्यक्तिहरू तथा कारोबारसँग सम्बन्धित थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।