काठमाडौं।इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन् । उनले नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृती थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताएकी छन् । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले समन्वय गरेको संवाद कार्यक्रममा आफ्नो पदयात्रा अनुभव सुनाउँदै शाचारले भनिन्, “नेपालमा पदयात्रा गर्नु मेरा लागि साहसिक यात्रा मात्र होइन । यो मेरा लागि ‘हिलिङ एरिया’ बन्यो ।

![]()

इजरायली सेना र गाजा क्षेत्रमा ‘मनोवैज्ञानिक थेरापिस्ट’ को रुपमा लामो समय काम गरेकी शाचारले आफ्नो ७० औं जन्मदिवस गत वर्ष अन्नपूर्ण सर्किटको पदयात्रा गर्दै मनाएकी थिइन् । ७०औँ जन्मदिन नेपालमै पदयात्रा गरेर मनाउन पाउँदा आफू निकै खुसी भएको बताउँदै शाचारले प्रत्येक जन्मदिनलाई जीवनको नयाँ अनुभवसँग जोड्ने गरेको बताइन् । “७० वर्ष विशेष उमेर हो । जन्मदिन मनाउन ट्रेकिङ गर्नु मेरो लागि उत्सवजस्तै हो,” उनले थपिन्, ““गत वर्ष अन्नपूर्ण सर्किट पूरा गरेको र यसपटक अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा गरेँ । पदयात्रा कतिपय अवस्थामा जोखिमपूर्ण पनि थियो, तर मलाई यो यात्रा निकै आनन्दपूर्ण लाग्यो ।


शाचारले नेपालमा पदयात्रा गर्दा आफूलाई निकै सहज र सकारात्मक महसुस भएको उल्लेख गर्दै उनले भनिन्, “नेपालमा ट्रेकिङ गर्नु मेरो लागि राम्रो थेरापीजस्तो भयो । यसले मलाई हलुका महसुस गरायो ।” दृष्टिविहीन भए पनि पदयात्राका क्रममा आफूले प्रकृतिलाई फरक ढंगले अनुभव गरेको उनले बताइन् । उनले भनिन्, “नदीको कलकल, बाँसको सुगन्ध, हावाको स्पर्श तथा प्रकृतिका ध्वनिले मलाई निकै आनन्दित बनायो । मैले अन्नपूर्ण पदयात्रा यति कठिन होला भनेर सोचेकी थिइनँ । तर आफूलाई विश्वस्त बनाएर बिस्तारै, एक–एक पाइला अघि बढाएँ । म देख्दिनँ, त्यसैले बाटो अप्ठ्यारो होला भन्ने पूर्वानुमान मलाई हुँदैन र समय बितेको पनि त्यति महसुस हुँदैन । यसले मेरो यात्रालाई सहज बनायो ।


आगामी वर्ष आफ्नो छोरीको ५० औं वर्षगाँठ मनाउन नेपाल आउने र लाङटाङ पदयात्रा गर्ने योजनासमेत उनले सुनाएकी छन् । नेपाल र नेपालीप्रति पनि सम्मान र प्रशंसा व्यक्त गर्दै उनले भनिन्, “नेपालीहरूको सहयोगी र आत्मीय व्यवहारले मलाई यात्राका क्रममा “रानीजस्तो” अनुभूति भयो ।” नेपाली संस्कृति, खाना र स्थानीय अतिथिगृहको अनुभव निकै राम्रो रहेको उनले उल्लेख गरिन् ।
अन्त्यमा उनले भनिन्, “आफ्नो जीवन आफूले सक्ने गरी पूर्ण रूपमा बाँच्नुपर्छ ।” दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल भ्रमण र पदयात्राका लागि प्रेरित गर्दै उनले नेपाल सुन्दर गन्तव्य भएको र यहाँको प्रकृतिले सकारात्मक ऊर्जा प्रदान गर्ने शाचारले आफ्नो अनुभव सुनाइन् ।
कार्यक्रममा नेपालस्थित इजरायली दूतावासका चार्ज द’अफेयर्स जनान मिशलेब-बेबारले शाचारको अनुभव आफूहरूका लागि पनि प्रेरणादायी भएको उल्लेख गर्दै भनिन्, “प्रकृती आँखाले मात्र देखिने होइन, महसुस पनि गर्न भन्ने सन्देश दिएको छ ।” उनले शाचारको यात्राले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि साहसका साथ यात्रा गर्न प्रेरणा दिने बताइन् । “शाचारले गर्न सक्नुभयो भने अन्य दृष्टिविहीन व्यक्तिहरूले पनि यस्ता अनुभव लिन सक्नुहुन्छ । उचित सहयोग र आत्मविश्वासका साथ नेपालका पदयात्रा गन्तव्य सबैका लागि अनुभवको अवसर बन्न सक्छन्,” चार्ज द’अफेयर्स जनानले भनिन् ।” शाचारको अनुभवले नेपालमा समावेशी र पहुँचयोग्य साहसिक पर्यटनको सम्भावनालाई उजागर गर्नुका साथै दृष्टिविहीन तथा अपाङ्गता भएका यात्रुका लागि पर्यटन केवल सम्भावना मात्र नभई जीवनलाई नयाँ ढंगले अनुभव गर्ने माध्यम हुन सक्ने उनले बताइन् ।
कार्यक्रममा नेपाल नेत्रहीन संघका समावेशी सल्लाहकार खोमराज शर्माले शाचारको यात्राले अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रेरणा बनेको बताए । उनले भने, “दृष्टिविहीन व्यक्तिलाई निश्चित रूपमा थप हेरचाह र सहयोग आवश्यक पर्छ । तर अपाङ्गता कुनै पनि सम्भावनाको अन्त्य होइन । हरेक अपाङ्गताभित्र पनि सम्भावना हुन्छ ।” प्रकृतिलाई केवल आँखाले हेरेर मात्र नभई स्पर्श, ध्वनि र अनुभूतिबाट पनि अनुभव गर्न सकिने उनले बताए ।
सन् २००३ देखि ट्रेकिङ गाइडका रूपमा कार्यरत शिवप्रसाद अधिकारीले दृष्टिविहीन पर्यटकलाई पदयात्रा गराउनु चुनौतीपूर्ण भए पनि उचित तालिम, आपसी समझदारी र सहयोगबाट सम्भव हुने बताए । सन् २०१४ देखि आफूले इजरायलबाट आएका पर्यटकहरूको समूहलाई नेपालमा पदयात्रा गराउँदै आएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिका लागि थप सहयोग र पहुँचयोग्य पर्यटन पूर्वाधारमा सरकारले ध्यान दिनुपर्ने सुझाव समेत उनले दिएका छन् ।
तस्बिर : सुवास थापा


