मेनु
Flash News

सम्भावित मौसमजन्य जोखिमबारे कार्यवाहक प्रधानमन्त्री वाग्लेको चासो

काठमाडौं।कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको मौसम पूर्वानुमान तथा सम्भावित विपद् जोखिमबारे सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ।

बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग छलफल गर्दै प्रधानमन्त्री वाग्लेले मौसमी अवस्थाको प्रक्षेपण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि भइरहेको पूर्वतयारीबारे जानकारी लिनुभएको हो।

छलफलका क्रममा महानिर्देशक श्रेष्ठले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली तथा मनसुनी वायुको सक्रियताका कारण देशभर उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो।

त्यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याएको जनाएको छ। सम्भावित जोखिम रहेका जिल्लाका प्रशासन कार्यालयसँगै पर्यटन, यातायात तथा पूर्वाधारसँग सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको कार्यकारी प्रमुख उप्रेतीले जानकारी गराउनुभयो।

मौसममा देखिएको सक्रियताका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयमा जोड दिइएको छ।

छलफलमा आगामी आइतबारदेखि मौसममा क्रमशः सुधार आउने अनुमानसमेत प्रस्तुत गरिएको थियो।