मेनु
Flash News

‘छ माया छपक्कै २’को शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक

काठमाडौं।दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘छ माया छपक्कै २’को शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक गरिएको छ।


फिल्मको सांगीतिक प्रचार अभियान सुरु गर्दै सार्वजनिक गरिएको गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा संगीत अभि सुनारले तयार पारेका हुन् भने विशाल निरौलाले एरेन्ज गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका हुन्।

गीतमा सनाई, बाँसुरी, रिदम र गिटारलगायतका वाद्यवादन प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ। सार्वजनिक गीतले फिल्मको कथावस्तु र वातावरणसँग जोडिएको सांगीतिक प्रस्तुति दिने अपेक्षा गरिएको छ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, दीपाश्री निरौला, सनिशा भट्टराई, कर्म शाक्यलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता रोहित अधिकारी हुन्।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको ‘छ माया छपक्कै २’ सन् २०१९ मा प्रदर्शनमा आएको चर्चित फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो।

फिल्म असोज ३१ गते फूलपातीका दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। शीर्ष गीत सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसारलाई समेत थप गति दिने निर्माण पक्षको तयारी छ।