नेपालमा सेप्टेम्बर २५ देखि २८ सम्म भारी वर्षाको चेतावनी, ट्रेकिङ रुटमा सतर्कता अपनाउन TAAN को आग्रह – Sagarmathapana:: Online News Portal

नेपालमा सेप्टेम्बर २५ देखि २८ सम्म भारी वर्षाको चेतावनी, ट्रेकिङ रुटमा सतर्कता अपनाउन TAAN को आग्रह

   २०८३ आश्विन ४ गते  

काठमाडौं।नेपालमा आगामी सेप्टेम्बर २५ देखि २८ तारिखसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै ट्रेकिङ तथा पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, गाइड र सहयोगी टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभिन्न मौसमसम्बन्धी अपडेटलाई उद्धृत गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) ले देशका विभिन्न क्षेत्रमा न्यूनचापीय प्रणाली तथा डिप्रेसनको प्रभावका कारण वर्षा बढ्नसक्ने जनाएको हो। यो अवधि नेपाली पात्रोअनुसार २०८३ साल असोज ९ देखि १२ गतेसम्म पर्छ।

TAAN सचिवालयले आफ्ना सदस्य एजेन्सी, ट्रेकिङ गाइड तथा सपोर्ट टिमलाई पछिल्लो मौसम पूर्वानुमान नियमित रूपमा जाँच गर्न र सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

विशेषगरी पहिरोको जोखिम भएका क्षेत्र, नदी तथा खोलाका जलाधार क्षेत्र र ट्रेकिङ रुटमा थप सतर्कता अपनाउन भनिएको छ। लगातार वर्षाका कारण बाटो अवरुद्ध हुने, पहिरो जाने तथा नदीको बहाव बढ्नसक्ने भएकाले यात्राको योजना बनाउँदा मौसमको अवस्थालाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ।

TAAN ले ट्रेकिङ तथा पर्वतीय गतिविधिमा संलग्न सबै पक्षलाई स्थानीय अवस्था र मौसमको पछिल्लो जानकारी लिएर मात्रै आवश्यक निर्णय लिन आग्रह गरेको छ।

TAAN सचिवालय, मालिगाउँ, काठमाडौंले जारी गरेको सूचनामा नेपाल पर्यटन बोर्ड–ट्रेड, TAAN गण्डकी तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) लगायत सम्बन्धित पर्यटन सरोकारवालालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

समाचार स्रोत : TAAN सचिवालय

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै