भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा ठगी बढ्दो,सचेत रहन महावाणिज्यदूतावासको आग्रह – Sagarmathapana:: Online News Portal

भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा ठगी बढ्दो,सचेत रहन महावाणिज्यदूतावासको आग्रह

   २०८३ भाद्र २७ गते  

दुबई।संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीका लागि आउने नेपाली नागरिकहरू भिजिट भिसा तथा व्यक्तिगत रोजगार भिसाका नाममा ठगीमा पर्ने क्रम बढ्दै गएको भन्दै नेपाली महावाणिज्यदूतावास, दुबईले सचेत रहन आग्रह गरेको छ।

महावाणिज्यदूतावासले संस्थागत रूपमा वैधानिक तथा सुरक्षित माध्यमबाट युएईमा रोजगारीका लागि आउने विकल्प हुँदाहुँदै पनि उल्लेख्य संख्यामा नेपाली नागरिक असुरक्षित तवरले युएई प्रवेश गर्ने र त्यसपछि ठगी तथा विभिन्न समस्यामा पर्ने गरेको जनाएको छ।
महावाणिज्यदूतावासका अनुसार केही नेपाली नागरिकले नेपालमै दलाललाई लाखौँ रुपैयाँ बुझाएर अन्य मुलुकको भिजिट भिसा लिने र काठमाडौंबाट हवाई यात्रा सुरु गर्ने गरेका छन्।

शारजाह वा दुबईमा ट्रान्जिट भएपछि सम्बन्धित मुलुकतर्फ नगई ठगीको उद्देश्यले निकालिएको भनिएको व्यक्तिगत श्रम भिसामार्फत युएई प्रवेश गर्ने र यहाँ आएपछि सम्बन्धित कम्पनीसँग सम्पर्क हुन नसक्ने वा कम्पनीले बेवास्ता गर्ने गरेका कारण अलपत्र पर्ने घटनाहरू देखिएका छन्।

त्यस्तै, नेपालमै ठूलो रकम बुझाएर युएईको भिजिट भिसा लिने र युएई आएपछि रोजगारी खोज्ने सोचका कारण पनि धेरै नेपाली नागरिक दलालको फन्दामा पर्ने गरेको महावाणिज्यदूतावासले जनाएको छ। यसरी ठगीमा परेका नेपालीहरू आर्थिक ठगीसँगै विभिन्न कानुनी झमेलामा परेको सम्बन्धमा उल्लेख्य संख्यामा गुनासो प्राप्त भइरहेको जनाइएको छ।

महावाणिज्यदूतावासले यस्ता घटनाबाट जोगिन सचेतना नै सबैभन्दा महत्वपूर्ण उपाय भएको उल्लेख गर्दै रोजगारीका लागि युएई आउन चाहने नेपाली नागरिकलाई भिजिट भिसामार्फत नभई संस्थागत रोजगार भिसाको सुरक्षित बाटो अपनाउन पुनः अनुरोध गरेको छ।
साथै, स्थापित तथा भरपर्दो रोजगारदाता कम्पनीमा आफ्नो योग्यता र अनुभवअनुसारको उच्च सीपयुक्त रोजगारी, यसअघि आफूले काम गरिसकेको विश्वसनीय कम्पनीमा पुनः रोजगारी वा युएईमा रहेका आफ्नै परिवारका सदस्यको पहलमा विश्वासिलो कम्पनीमा सुनिश्चित भएको रोजगारीबाहेक व्यक्तिगत रोजगार भिसामा युएई नआउन समेत महावाणिज्यदूतावासले आग्रह गरेको छ।

रोजगारीको प्रलोभनमा परी दलाललाई ठूलो रकम बुझाएर जोखिमपूर्ण माध्यमबाट युएई प्रवेश गर्दा आर्थिक क्षतिसँगै रोजगारीविहीन हुने, अलपत्र पर्ने तथा कानुनी समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन महावाणिज्यदूतावासले अनुरोध गरेको छ।

सूर्यबहादुर खवास (अध्यक्ष,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युएई)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै