जलन उपचारका लागि काठमाडौँ महानगरले २ करोड दिने
काठमाडौँ।काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका जलनपीडितलाई २ लाख रुपैयाँसम्म निःशुल्क उपचार गराउने भएको छ। यसका लागि महानगरपालिकाले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट) सँग सम्झौता गरेको छ।
सम्झौताअनुसार अति विपन्न, हिंसा पीडित, बेवारिसे बिरामी तथा महानगरवासीसहित तोकिएका लक्षित वर्गले स्वास्थ्य शिक्षा समितिको सिफारिसमा उपचार सुविधा पाउनेछन्। उपचार खर्च ‘जलन उपचार कोष’ मार्फत व्यहोर्ने व्यवस्था गरिएको छ।


महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको छ। त्यसमध्ये १ करोड रुपैयाँ जलन उपचार कोषका लागि र १ करोड रुपैयाँ अस्पतालका लागि आवश्यक औजार तथा उपकरण खरिदमा खर्च गरिएको हो।
उपकरणतर्फ एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५०० एमएको डिजिटल एक्स–रे मेसिन अस्पताललाई हस्तान्तरण गरिएको छ। डिजिटल एक्स–रे मेसिनबाट दैनिक १ सय जनासम्मलाई सेवा दिन सकिने बताइएको छ।
सम्झौताअनुसार जलन उपचारसँगै दुर्घटना रोकथाम, प्राथमिक उपचार, सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम र तालिमसमेत सञ्चालन गरिनेछ। अस्पतालको क्याबिन, ईएचएस तथा कस्मेटिक उपचारमा भने कोषको रकम प्रयोग गर्न नपाइने व्यवस्था छ।












