रसुवा बाढीपीडितका लागि पर्वतारोहण व्यवसायीको ३८ लाख बढी सहयोग – Sagarmathapana:: Online News Portal

रसुवा बाढीपीडितका लागि पर्वतारोहण व्यवसायीको ३८ लाख बढी सहयोग

   २०८३ भाद्र २६ गते  

काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पर्वतारोहण सञ्चालक संघ नेपालसहित पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध विभिन्न कम्पनीहरूले ३८ लाख २३ हजार २२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी बिहीबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)लाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।

पर्वतारोहण सञ्चालक संघ नेपालले जारी गरेको विज्ञप्तिअनुसार संघको कार्यसमिति बैठकले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संघको मानवीय अभियानमा ऐक्यबद्धता जनाउँदै पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील सदस्य कम्पनीहरूले समेत स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका हुन्।

सहयोग गर्ने संस्थामध्ये ट्याग नेपाल प्रा.लि.ले १० लाख रुपैयाँ, सातोरी एड्भेन्चर्स प्रा.लि.ले ५ लाख रुपैयाँ, शांग्रिला नेपाल प्रा.लि.ले ५ लाख रुपैयाँ र आइसल्याण्ड टेक्स एण्ड एक्सपिडिसनले ४ लाख ४४ हजार ४४४ रुपैयाँ प्रदान गरेका छन्।

त्यस्तै, एक्सपिडिसन हिमालय डटकम्ले ५५ हजार ५५५ रुपैयाँ, हिमालयन गाइड नेपालले १ लाख १ हजार रुपैयाँ र स्नो होरिजन ट्रेक्स एण्ड एक्स्पिडिसनले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

संघले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। विज्ञप्तिमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

साथै, घाइते, विस्थापित तथा प्रभावित नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै विपद्को समयमा राहत तथा उद्धार कार्यमा सहयोग गर्नु सबैको साझा दायित्व भएको संघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै