प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित अवस्थाबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका हुन्। छलफलमा खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार तथा विपद्पछिको समग्र अवस्थाबारे ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने बताइएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।
रसुवामा आएको बाढी तथा त्यसपछि विभिन्न क्षेत्रमा परेको प्रभावका बीच सुरक्षा निकायले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ।












