भोटेकोशी बाढी प्रभावित कृषकको पुनःस्थापनामा सहकार्य गर्ने यूएनको प्रतिबद्धता
काठमाडौँ।कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा भोटेकोशी बाढीबाट प्रभावित कृषि तथा पशुपन्छी क्षेत्रको पुनःस्थापना लगायत जलवायुजन्य जोखिम न्यूनीकरणका विषयमा छलफल भएको छ।
मन्त्रालयमा भएको भेटमा नेपालको पछिल्लो अवस्था, हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, उत्थानशील विकास तथा विपद्पछिको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
मन्त्री चौधरीले नेपालले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई उच्च प्राथमिकता दिएको बताउँदै भोटेकोशी बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा पुगेको क्षति र प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताउनुभयो।
भेटमा खाद्य सुरक्षा, पर्वतीय एजेन्डा, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरणका विषयमा पनि छलफल भएको थियो।
मन्त्री चौधरीले आगामी संयुक्त राष्ट्रसंघ महासभा तथा कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा र जलवायु न्यायका मुद्दालाई प्रभावकारी रूपमा उठाउन संयुक्त राष्ट्रसंघको सहयोग आवश्यक रहेको बताउनुभयो। साथै, खाद्य सुरक्षा क्लस्टरलाई प्रभावकारी बनाउन एफएओलगायत संयुक्त राष्ट्रसंघीय निकायसँग दीर्घकालीन सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
भेटमा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायुजन्य जोखिम न्यूनीकरणका क्षेत्रमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।












