अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित,मधेश वारियर्स अझै जितविहीन – Sagarmathapana:: Online News Portal

अन्नपूर्ण स्पाइकर किङ्सको दोस्रो जित,मधेश वारियर्स अझै जितविहीन

   २०८३ भाद्र २२ गते  

काठमाडौं।एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्सले दोस्रो जित हात पारेको छ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा जित निकाल्यो।

अन्नपूर्णका उरनबायर खेलका ‘म्यान अफ द म्याच’ घोषित भए। उनी लगातार दोस्रो खेलमा उक्त अवार्ड जित्न सफल भएका हुन्। यसअघि काठमाडौं रेड्सविरुद्धको खेलमा पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए।

तीन खेल खेलेको अन्नपूर्णले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–० ले हराएको थियो।

यता, मधेश वारियर्सले प्रतियोगितामा हालसम्म जित निकाल्न सकेको छैन। तीन खेल खेलेको मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ र दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ ले पराजित भएको थियो।

सोमबार नै अपराजित रहेका कर्णाली शिवराज र सगरमाथा स्म्यासर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीका लागि यो प्रतियोगिताको तेस्रो खेल हो।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जुन नेपाली भलिबलको इतिहासमै हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

नेपालमा पहिलोपटक आयोजना भइरहेको पुरुष भलिबलको फ्रेन्चाइज लिगको फाइनल भदौ २७ गते हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै