त्रिशूली बाढीमा ११ दिन पुरिएकी चन्द्रिका जीवितै भेटिइन्, बोल्न सक्ने अवस्थामा – Sagarmathapana:: Online News Portal

त्रिशूली बाढीमा ११ दिन पुरिएकी चन्द्रिका जीवितै भेटिइन्, बोल्न सक्ने अवस्थामा

   २०८३ भाद्र २० गते  

काठमाडौं।नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरभित्र पुरिएकी ५५ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

विदुर नगरपालिका–१० की श्रेष्ठलाई शनिबार आधा पुरिएको घरभित्रबाट आवाज आएपछि प्रहरी टोलीले उत्खनन गरी जीवितै उद्धार गरेको हो। उद्धारका क्रममा उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार स्थानीयवासीले घरभित्रबाट मानिसको आवाज सुनिएको जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि सुरक्षाकर्मीले उत्खनन गरी श्रेष्ठलाई बाहिर निकालेका हुन्।

भदौ १० गते आएको भीषण बाढीले बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण घर तथा संरचनाहरूमा क्षति पुगेका थिए भने धेरै मानिस प्रभावित भएका थिए।

११ दिनसम्म पुरिएर पनि जीवित रहेकी श्रेष्ठलाई उद्धारपछि उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै