रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाखको खाद्य सामग्री दिने
काठमाडौँ।रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहतस्वरूप शारदा ग्रुप र जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउने गरी दुवै समूहले एक–एक लाख प्याकेट रमपम चाउचाउ, गुडलाइट बिस्कुट र गुडलाइट जुस उपलब्ध गराउने निर्णय गरेका हुन्।

![]()
एशियन थाई फुडद्वारा उत्पादित उक्त सामग्री बाढी प्रभावित नागरिकलाई राहतस्वरूप वितरण गरिने कम्पनीका ब्रान्ड म्यानेजर बसन्तमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार राहत सामग्रीको अनुमानित मूल्य करिब ६० लाख रुपैयाँ रहेको छ। बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग घोषणा गरिएको उनले बताए।

“विपद्को यो कठिन समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो सामाजिक दायित्व हो,” श्रेष्ठले भने।
तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावितको खोजी, उद्धार तथा राहत वितरणमा सरकारी निकायसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र विभिन्न व्यवसायिक समूह सक्रिय छन्।
निजी क्षेत्रबाट घोषणा भइरहेका यस्ता राहत सहयोगले बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।













