छुजुङ जलविद्युत् आयोजनाविरुद्ध स्थानीयको आपत्ति, हिमताल र सांस्कृतिक सम्पदा जोखिममा परेको दाबी – Sagarmathapana:: Online News Portal

छुजुङ जलविद्युत् आयोजनाविरुद्ध स्थानीयको आपत्ति, हिमताल र सांस्कृतिक सम्पदा जोखिममा परेको दाबी

   २०८३ भाद्र ९ गते  

निमा पोङ्स्युवा
काठमाडौं।संखुवासभाको भोटखोला क्षेत्रमा निर्माण प्रक्रियामा रहेको छुजुङ जलविद्युत् आयोजनाले वातावरण, प्राकृतिक सम्पदा, स्थानीय संस्कृति तथा समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने भन्दै स्थानीय अभियन्ता तथा समुदायका अगुवाले आपत्ति जनाएका छन्।

स्थानीय सामाजिक अभियन्ता कर्मा भोटियाले आयोजनाका लागि भइरहेको सडक विस्तार तथा अन्य निर्माणका क्रममा ठूलो मात्रामा विस्फोट र भू–भाग कटान भइरहेको दाबी गर्दै यसबाट आसपासका हिमताल तथा संवेदनशील भू–भाग जोखिममा परेको बताएका छन्।


उनका अनुसार आयोजनाको आसपास ३ देखि ५ किलोमिटर क्षेत्रमै करिब ३१–३२ वटा हिमताल छन्। तीमध्ये केही उच्च जोखिममा रहेको दाबी गर्दै उनले आयोजनाका क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ प्रयोग गर्दा हिमताल, बस्ती र आसपासको भूगोलमा गम्भीर असर पर्न सक्ने बताए।

भोटियाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख गरिएको क्षेत्र र स्थलगत रूपमा भइरहेको भू–भाग कटान तथा प्रयोगबीच ठूलो अन्तर रहेको आरोपसमेत लगाए। ईआईएमा सीमित क्षेत्र उल्लेख भए पनि व्यवहारमा करिब १ हजार ८ सय हेक्टर क्षेत्र प्रभावित हुने गरी काम भइरहेको उनको दाबी छ।

आयोजनाले चौरीपालनमा निर्भर स्थानीय समुदायको परम्परागत जीवनशैली र आम्दानीमा समेत असर पार्ने उनले बताए। भोटखोला क्षेत्रमा ठूलो संख्यामा चौरीपालक समुदाय रहेको र चौरीपालन स्थानीयको प्रमुख जीविकोपार्जनमध्ये एक रहेको उनको भनाइ छ।

भोटियाले भोटखोला क्षेत्र प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले ठूला पूर्वाधार निर्माण गर्दा स्थानीय समुदायको अधिकार, वातावरणीय प्रभाव र स्थानीय कानुनलाई बेवास्ता गर्न नहुने बताए।

“हाम्रो लागि खोला केवल पानीको स्रोत होइन, धर्म, संस्कृति र आस्थासँग जोडिएको सम्पदा हो,” उनले भने, “बरुणदेखि अरुणसम्मका खोला, हिमाल र प्राकृतिक सम्पदासँग स्थानीय समुदायको गहिरो सम्बन्ध छ।

आयोजनाको वातावरणीय अध्ययन प्रक्रियामा प्रभावित सबै घरधुरी तथा समुदायको वास्तविक सहभागिता नभएको आरोपसमेत उनले लगाए। प्रभावित क्षेत्रका करिब ३१५ घरधुरीमध्ये सीमित व्यक्तिलाई मात्र सहभागी गराएर अध्ययन प्रक्रिया अघि बढाइएको र केही हस्ताक्षरसमेत विवादास्पद रहेको उनको दाबी छ।

आयोजनासँग सम्बन्धित कागजात तथा हस्ताक्षर संकलन प्रक्रियामाथि प्रश्न उठाउँदै भोटियाले सम्बन्धित सरकारी निकायबाट स्थलगत छानबिन गर्न माग गरेका छन्।

उनले भोटखोलामा जलविद्युत् आयोजना मात्रै विस्तार गर्दै जाने हो भने दीर्घकालीन रूपमा पर्यटन, चौरीपालन, संस्कृति र प्राकृतिक सम्पदामा क्षति पुग्न सक्ने चेतावनी दिए। विकासका नाममा प्राकृतिक सम्पदा नष्ट गर्नुको सट्टा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने र वातावरण संरक्षण हुने दिगो विकासको मोडल आवश्यक रहेको उनको भनाइ छ।

सरकारले ठूलो परिमाणमा विद्युत् उत्पादनको लक्ष्य अघि सारे पनि उत्पादित विद्युत्को बजार, खरिद सुनिश्चितता, ऋणको भार तथा आयोजनाबाट स्थानीय र राष्ट्रले प्राप्त गर्ने दीर्घकालीन लाभबारे स्पष्ट योजना आवश्यक रहेको उनले बताए।

भोटियाले छुजुङलगायत संवेदनशील क्षेत्रमा निर्माण कार्य अघि बढाउनुअघि हिमताल, भूगोल, वातावरण, स्थानीय संस्कृति र समुदायको जीविकोपार्जनमा पर्ने प्रभावबारे स्वतन्त्र विज्ञबाट अध्ययन गराउन माग गरेका छन्।

स्थानीयको आवाजलाई बेवास्ता गरिए आयोजनाविरुद्धको संघर्ष निरन्तर जारी राख्ने चेतावनीसमेत उनले दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै