प्रतिनिधिसभा बैठक आज, चार विधेयक समितिमा पठाउने कार्यसूची – Sagarmathapana:: Online News Portal

प्रतिनिधिसभा बैठक आज, चार विधेयक समितिमा पठाउने कार्यसूची

   २०८३ भाद्र ८ गते  

काठमाडौं।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ मन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यसूची छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभाको आजको बैठकमा विधेयकहरूलाई थप छलफल तथा प्रक्रियाका लागि सम्बन्धित समितिमा पठाउने विषय प्रमुख रूपमा रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै