करको विरोधमा देशव्यापी हस्ताक्षर अभियान चलाउने कुलमान घिसिङको घोषणा
![]()
रामेछाप।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष असर पर्ने गरी सरकारले लगाएको करको विरोधमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
![]()

आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा घिसिङले भदौ १ गतेदेखि सुरु गरिएको अभियान एक महिनासम्म सञ्चालन गरी संकलित हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिए।

उनका अनुसार अभियान स्थानीय तहसम्म विस्तार गरिनेछ। सरकारले विद्युत्, राइड सेयरिङलगायत क्षेत्रमा कर थपेर सर्वसाधारणमाथि आर्थिक भार बढाएको घिसिङको आरोप छ।
विद्युत् खपत बढाएर देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्ने समयमा विद्युत्मा कर लगाएर उपभोग निरुत्साहित गर्ने नीति सरकारले लिएको उनले बताए। विद्युत् प्राधिकरणको बक्यौता नउठाउने तर सर्वसाधारणलाई थप भार थोपर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।


घिसिङले लोडसेडिङका बेला उद्योगलाई उपलब्ध गराइएको विद्युत्को बक्यौता रकम उठाउन सरकारले प्रभावकारी कदम नचालेको भन्दै आलोचना गरे। विद्युत् महसुल घटाएर खपत बढाउन सके ग्यास तथा पेट्रोलियम पदार्थको आयात घट्दै देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए।
ट्याक्सी खरिदमा देखिएको मूल्य अन्तर र सर्वसाधारणले प्रयोग गर्ने राइड सेयरिङमा समेत कर लगाइएको विषयमा पनि उनले आपत्ति जनाए। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका वस्तु तथा सेवामा लगाइएको कर नीति पुनर्विचार गर्नुपर्ने उनको माग छ।
सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्ने बताउँदै घिसिङले सुनुवाइ नभए आगामी कदमबारे थप निर्णय गरिने चेतावनी दिए। जनताको आवाज नसुने सरकारलाई ‘दुईतिहाइको सरकार’ भन्न नमिल्ने उनको टिप्पणी थियो।












