विद्यालय शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखिएको छ : शिक्षामन्त्री पोखरेल – Sagarmathapana:: Online News Portal

विद्यालय शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखिएको छ : शिक्षामन्त्री पोखरेल

   २०८३ भाद्र ७ गते  

काठमाडौं।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ।

आइतबार शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सरोकारवालासँगको परामर्श गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी, सहभागितामूलक र विद्यार्थीमैत्री बनाइने बताउनुभयो। सरोकारवालाबाट प्राप्त सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममै समेटिने उहाँको प्रतिबद्धता थियो।

मन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहबीच शिक्षासम्बन्धी अधिकारको स्पष्ट बाँडफाँट र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने विश्वव्यापी अभ्यास भए पनि नेपालमा पर्याप्त बजेट विनियोजन हुन नसकेको उहाँको भनाइ थियो।

शिक्षा बजेटको ठूलो हिस्सा स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक–कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री पोखरेलले बताउनुभयो। प्रारम्भिक बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्न स्थानीय तहले आफ्नो स्रोत परिचालन गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सातै प्रदेशमा सञ्चालन गरिएको ‘शिक्षा संवाद’बाट प्राप्त सुझाव प्रस्तुत गर्नुभयो। उहाँले सङ्घीय संसद्को हिउँदे अधिवेशनअघि सहमतिमा विद्यालय शिक्षा ऐन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सातै प्रदेशबाट प्राप्त सुझाव विधेयकमा समेटिने बताउनुभयो। शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकको दर्ता, स्थायी नियुक्ति, बढुवा, विद्यालय संरचना तथा प्रविधिको प्रयोगजस्ता विषय ऐनमै स्पष्ट गर्नुपर्ने धारणा राख्नुभयो।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष काशीनाथ दङ्गाल र प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले पनि प्रस्तावित शिक्षा विधेयकलाई विद्यार्थी तथा शिक्षकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्रालयले विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशमा सञ्चालन गरेको ‘शिक्षा संवाद’मार्फत शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् लगायतसँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा सुझाव संकलन गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै