पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयन – Sagarmathapana:: Online News Portal

पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयन

   २०८३ भाद्र २ गते  


काठमाडौं।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।

मञ्चले भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँटलाई पिपल्स च्वाइस विधामा मनोनयन गरेको हो।

मञ्चका अनुसार पिपल्स च्वाइस अवार्डको विजेता खेल पत्रकार, राष्ट्रिय खेलका मुख्य प्रशिक्षक, मञ्चका सदस्य, सामाजिक सञ्जालका समर्थक तथा डिजिटल वालेट खल्ती बाई आईएमईमार्फत प्राप्त मतका आधारमा छनोट हुनेछ। यसपटक मतदान प्रक्रियामा नयाँ व्यवस्था गर्दै एक समर्थकले एक दिनमा एकपटक मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

कुल मतभारमध्ये खल्तीको ५० प्रतिशत र फेसबुक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक तथा खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त मतको ५० प्रतिशत रहनेछ। फेसबुकबाट मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्नेछ।

पिपल्स च्वाइस अवार्डको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अवार्ड समारोह आगामी भदौ १८ गते आयोजना हुँदैछ। मञ्चले यस वर्ष विभिन्न नौ विधामा अवार्ड प्रदान गर्ने जनाएको छ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले योग्य खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले अवार्डको मतदान प्रक्रियालाई थप व्यवस्थित बनाइएको बताउनुभएको छ। पिपल्स च्वाइस विधा नेपाली खेलकुदको लोकप्रिय विधामध्ये एक भएकाले मनोनयनमा परेका खेलाडीलाई समर्थकको उल्लेख्य साथ मिल्ने अपेक्षा मञ्चले गरेको छ।

यसैबीच, पिपल्स च्वाइस विधाको भोटिङ पार्टनरका रूपमा खल्ती बाई आईएमईसँग मञ्चले सम्झौता गरेको छ। सम्झौतामा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खल्तीकी म्यानेजर पूजा धामीले हस्ताक्षर गर्नुभएको हो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै