काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं।खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमले आज शनिबार काठमाडौंका पाँच छुट्टाछुट्टै स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ। ग्यास बिक्री बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।



निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय परिसर चावहिल, राधास्वामी कीर्तिपुर परिसर, राधास्वामी बसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा ग्यास बिक्री गरिनेछ।
ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि बिक्री वितरण गरिरहेको जनाएको छ।














