नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम – Sagarmathapana:: Online News Portal

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

   २०८३ श्रावण २९ गते  

काठमाडौं।संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको थियो।

संसद भवन परिसरलाई हराभरा, आकर्षक र प्राकृतिक रूपमा सुन्दर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताउनुभयो। उहाँले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सांसदहरूले एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, हलुवाबेद, निम, पैयुँ, समी र गुलमोहरलगायत करिब ५०० वटा फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक बिरुवा रोपेका छन्।

नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापनका लागि संसद परिसरमा रोपिने विभिन्न प्रजातिका बिरुवा र तिनको स्थानसमेत निर्धारण गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै