देउवा पाँच महिनापछि नेपाल फर्किँदै,साउन २६ गते साँझ काठमाडौं आइपुग्ने
काठमाडौँ।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि स्वदेश फर्किने भएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका देउवा साउन २६ गते साँझ काठमाडौं आइपुग्ने उनका निकट नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।
जेनजी आन्दोलनका क्रममा हमलामा परेपछि उपचारका लागि सिंगापुर गएका देउवा २१ फागुनमा भएको निर्वाचनमा समेत मतदान नगरी विदेशमै रहेका थिए।

देउवा र उनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरूको विदेश बसाइ लम्बिएको चर्चा हुँदै आएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले देउवा दम्पतीमाथि संयुक्त रूपमा अनुसन्धान अघि बढाएको थियो।
सरकारले चैत २४ गते देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत रेड कर्नर नोटिसका लागि पत्राचार गरेको थियो। तर, इन्टरपोलले उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको थियो।
पक्राउ पुर्जीविरुद्ध देउवा दम्पतीले वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले उनीहरूलाई पक्राउ नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ।
यसैबीच, देउवा दम्पतीले असार २८ गते सम्बन्धित विभागलाई पत्र पठाउँदै आफूहरू नभागेको र अनुसन्धानमा सहयोग गर्न साउन २८ गतेभित्र नेपाल फर्किने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार देउवा नेपाल फर्किन लागेको उनी निकट नेताहरूले बताएका छन्।
देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको छ। राष्ट्रिय भेलाको तयारीसँगै देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्र समेत चासोका साथ हेरिएको छ।












