सामुदायिक वन दिवस २०८३ अन्तर्गत युवा नेतृत्वमा सञ्चालित महतगाउँ सल्लाघारी सामुदायिक वनको अध्ययन–अवलोकन सम्पन्न – Sagarmathapana:: Online News Portal

सामुदायिक वन दिवस २०८३ अन्तर्गत युवा नेतृत्वमा सञ्चालित महतगाउँ सल्लाघारी सामुदायिक वनको अध्ययन–अवलोकन सम्पन्न

   २०८३ श्रावण २१ गते  

काठमाडौं।सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा सप्ताहव्यापी रूपमा मनाइँदै आएको सामुदायिक वन दिवस २०८३ कार्यक्रमअन्तर्गत आज तेस्रो दिन गोदावरी नगरपालिका–५, लेलेस्थित महतगाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समूहको अध्ययन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा युवा नेतृत्वमा सफलतापूर्वक व्यवस्थापन हुँदै आएको सामुदायिक वनका उत्कृष्ट अभ्यासहरूको अवलोकन गरिएको थियो। अवलोकनका क्रममा च्याउ खेती प्रवर्द्धनका लागि डिभिजन वन कार्यालय, ललितपुरसँगको समन्वय, पानी पोखरी संरक्षण तथा व्यवस्थापन, तथा वि.सं. २०२७ सालमा नाङ्गो डाँडामा सल्लाको वृक्षरोपण गरी हराभरा वनमा रूपान्तरण गरिएको सफल अभ्यासका बारेमा जानकारी आदानप्रदान गरिएको थियो।

५८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन युवा महिला अध्यक्ष रञ्जीता महतको नेतृत्वमा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। स्थानीय समुदायको सक्रिय सहकार्यमा जैविक मल उत्पादन, वन संरक्षण, जैविक विविधता संरक्षण तथा समुदायको जीविकोपार्जनमा टेवा पुग्ने विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

उक्त अध्ययन–अवलोकन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष ठाकुर भण्डारी, महासंघका वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, साथै सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी तथा अन्य प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा युवा नेतृत्वलाई थप सुदृढ गर्दै “युवासँग महिला, युवासँग उद्योग, युवासँग पर्यापर्यटन र युवासँग अवसर” भन्ने अभियानका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामुदायिक वनलाई संरक्षणसँगै रोजगारी, उद्यमशीलता, महिला सशक्तीकरण, प्रकृति पर्यटन तथा स्थानीय आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै