थाइल्यान्डमा न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङको शानदार सफलता, ४ पदकसहित नेपालको गौरव बढायो – Sagarmathapana:: Online News Portal

थाइल्यान्डमा न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङको शानदार सफलता, ४ पदकसहित नेपालको गौरव बढायो

   २०८३ श्रावण १८ गते  


काठमाडौं।थाइल्यान्डको पर्यटकीय सहर पट्टायामा सम्पन्न 9th Heroes International Taekwondo Championship 2026 मा न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै २ रजत र २ कांस्य पदक जित्न सफल भएको छ। टोलीको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको उपस्थितिलाई थप सशक्त बनाएको छ।

प्रतियोगिताको स्पिड किक (१८ वर्षमाथि) विधामा राकेश सापकोटाले रजत पदक जिते भने ९–१० वर्ष उमेर समूहको स्पिड किकतर्फ एरोन श्रेष्ठले पनि रजत पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका छन्।

यस्तै, स्पिड किक (१८ वर्षमाथि) विधामा सिरिशा खनालले कांस्य पदक जितिन् भने १२–१४ वर्ष उमेर समूहअन्तर्गत ४७ केजी क्योरुगीमा केल्साङ दाहालले कांस्य पदक जित्दै टोलीको सफलतालाई थप मजबुत बनाए।

टोलीको सफलतामा मुख्य प्रशिक्षक मुना खवास मगर र टिम म्यानेजर आरिया खड्गीको नेतृत्व तथा समर्पणको महत्वपूर्ण भूमिका रहेको डोजाङले जनाएको छ। उनीहरूको निरन्तर प्रशिक्षण, योजना र मेहनतका कारण खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हुन्।

रजत पदक विजेता एरोन श्रेष्ठ हाल विद्या अर्जन स्कुलका विद्यार्थी हुन्। कम उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल एरोनको उपलब्धिले विद्यालय, परिवार तथा नेपाली खेलकुद क्षेत्रलाई गर्वान्वित बनाएको छ।

न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङले आफ्ना खेलाडी, प्रशिक्षक, व्यवस्थापन टोली तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै