देशभर मनसुन सक्रिय,पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी – Sagarmathapana:: Online News Portal

देशभर मनसुन सक्रिय,पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

   २०८३ श्रावण १७ गते  

काठमाडौं।देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। अहिले सुदूरपश्चिमको तराईमा आंशिक बदली रहे पनि बाँकी अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पहाडी भेगका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि मौसममा सुधार नआउने महाशाखाले जनाएको छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

भारी वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्ने भएकाले नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा अद्यावधिक गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै