ग्यास अभावपछि आयल निगमको कडा निर्देशन, घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिन आग्रह
वीरगञ्ज।बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले सम्पूर्ण ग्यास उद्योगी र डिलरहरूलाई आपूर्ति व्यवस्था तत्काल सहज बनाउन निर्देशन दिएको छ।
शनिबार जारी विज्ञप्तिमा निगमले बजारमा देखिएको ग्यास अभाव अन्त्य गर्दै नियमित रूपमा बिक्री–वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको हो। १४.२ किलोग्राम क्षमताको ग्यास सिलिन्डरको बिक्री पुनः सुरु भए पनि सर्वसाधारणले ग्यास नपाएको गुनासो बढेपछि निगमले चासो देखाएको जनाएको छ।
निगमले ग्यास डिलरहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर मात्र ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ। साथै, प्रत्येक खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको स्पष्ट अभिलेख राखेर पारदर्शी ढंगले ग्यास वितरण गर्न पनि आग्रह गरिएको छ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा उपभोक्तालाई अनावश्यक दुःख दिने गतिविधि भएमा तत्काल जानकारी गराउन निगमले आग्रह गरेको छ। उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न सक्ने निगमले जनाएको छ।












