करदाता प्रोत्साहन उपहारमा सहभागी हुन आह्वान, १०० रुपैयाँभन्दा बढीको नगद बिल दर्ता गर्न विभागको आग्रह
काठमाडौं।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल दर्ता गराउन आग्रह गरेको छ।
विभागले शनिबार सूचना जारी गर्दै साउन १ गतेयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल बिल लिएका उपभोक्ताले prize.ird.gov.np वेबसाइटमार्फत बिल अपलोड गरेर कार्यक्रममा सहभागी हुन सक्ने जनाएको हो।
विभागका उपमहानिर्देशक तथा सह-सचिव जनकराज शर्माका अनुसार क्यूआर (QR) मार्फत गरिएको भुक्तानी भने विभागको प्रणालीमा स्वतः समावेश हुने भएकाले हाल बिल प्रविष्ट गर्न आवश्यक छैन। तर उपहार घोषणा भएपछि सक्कल बिल अनिवार्य हुने भएकाले सबै बिल सुरक्षित राख्न आग्रह गरिएको छ।
विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा प्यान तथा भ्याट बिल माग्न र बिल नपाए विभागमा जानकारी गराउन पनि अनुरोध गरेको छ।
साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी रहेको विभागले जनाएको छ। प्राविधिक समस्या नआए प्रत्येक दिनका १ लाख रुपैयाँका १५ विजेता तथा १५ दिनको बम्पर १० लाख रुपैयाँका एक विजेताको घोषणा गरिनेछ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिल लिने संस्कृतिको विकास र कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गर्नुभएको थियो। कार्यविधिअनुसार दैनिक एक जनालाई करकट्टीपछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बम्पर नगद पुरस्कार प्रदान गरिने व्यवस्था छ।












