अमेरिकी दूतावासका माइक हार्करले सुनाए सगरमाथा आरोहणका प्रेरणादायी अनुभव
काठमाडौं।अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहणका क्रममा आफूले भोगेका अनुभव र सिकाइ युवामाझ साझा गरेका छन्।
अमेरिकन सेन्टर काठमाडौंको ‘गेट इन्स्पायर्ड स्पिकर सिरिज’ अन्तर्गत आयोजित कार्यक्रममा हार्करले सगरमाथाको शिखर पुग्नु आफ्नो व्यक्तिगत यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए। उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो अमेरिकी फरेन सर्भिस अफिसरसमेत बनेका छन्।

कार्यक्रममा उनले सगरमाथा आरोहणका लागि महिनौँसम्मको तयारी, उच्च हिमाली क्षेत्रमा शरीरलाई अनुकूल बनाउने प्रक्रिया, टोलीमा निर्भरता, डर र थकान व्यवस्थापन तथा प्रतिकूल परिस्थितिमा सही निर्णय लिनुपर्ने चुनौतीबारे अनुभव सुनाए।
हार्करले सगरमाथा आरोहणका अनुभवलाई युवाको शिक्षा, उद्यमशीलता, करियर विकास र नेतृत्वसँग जोड्दै प्रत्येक व्यक्तिको आफ्नै ‘एभरेस्ट’ हुने बताए। उनले लक्ष्य हासिल गर्न स्पष्ट योजना, आत्मविश्वास, अनुशासन र उत्कृष्टताप्रतिको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सहभागी युवालाई आफ्ना व्यक्तिगत तथा व्यावसायिक लक्ष्य पहिचान गरी त्यसतर्फ अघि बढ्न आवश्यक व्यावहारिक कदमबारे सोच्न प्रेरित गरिएको थियो।
अमेरिकन सेन्टर काठमाडौंले यस्ता कार्यक्रममार्फत युवालाई नेतृत्व विकास, सीप अभिवृद्धि र समुदायमा सकारात्मक योगदानका लागि प्रेरित गर्दै आएको जनाएको छ।












