सुनसरी घटनाप्रति प्रधानमन्त्री शाह दुःखी,सामाजिक सद्भाव कायम राख्न अपिल
काठमाडौं।प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको घटनाक्रमप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेका छन्।
मंगलबार राति करिब साढे ११ बजे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आक्रोश, रिस, डर र बदलाको भावना त्याग्न आग्रह गरेका हुन्। उनले उत्तेजित हुने वा गराउने कुनै पनि गतिविधिमा सहभागी नहुन र सबैलाई सुरक्षित तथा संयमित भएर बस्न आग्रह गरेका छन्।


प्रधानमन्त्री शाहले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाएका छन्।
सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु र घाइते भएको विषय गम्भीर रहेको उल्लेख गर्दै उनले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। सरकारले घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा कदम चालिरहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा उनीहरूका परिवारलाई न्यायको अनुभूति दिलाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने बताएका छन्। उनले भनेका छन्, ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो।’
उनले अन्त्यमा सबैलाई तुष, रिस, डर र आक्रोश त्यागेर एकअर्काप्रति प्रेम र सम्मान कायम राख्न तथा सामाजिक सद्भाव जोगाउन पुनः अपिल गरेका छन्।













