सिड्नीमा नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न, २० भन्दा बढी देशका ४०० उद्यमी सहभागी – Sagarmathapana:: Online News Portal

सिड्नीमा नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न, २० भन्दा बढी देशका ४०० उद्यमी सहभागी

   २०८३ श्रावण १३ गते  

काठमाडौं।विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ।

जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्यसमितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अस्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अस्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधिसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा धारणा राखेका थिए।

सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे। उनले नेपालमा लगानीको वातावरण क्रमशः अनुकूल बन्दै गएको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र लगानीमैत्री नीतिलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए।

दुईदिने सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी, वित्तीय पहुँच तथा विश्वव्यापी व्यवसाय विस्तारलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै प्यानल छलफलसमेत गरिएको थियो।

छलफलमा एआईले सिर्जना गरिरहेका अवसर, नेपाली स्टार्टअपको अन्तर्राष्ट्रिय सम्भावना, प्रविधिमा आधारित उद्यम विकास, लगानी आकर्षण तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य विस्तारका विषयमा व्यापक बहस भएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिनेका) का अध्यक्ष गोकर्ण ढकालले सम्मेलनले विश्वभर फैलिएका नेपाली युवा उद्यमीबीच व्यावसायिक सञ्जाल विस्तार, लगानी साझेदारी, ज्ञान तथा प्रविधि आदान–प्रदान र नेपालकेन्द्रित लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

सम्मेलनमार्फत नेपाली उद्यमलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्ने, अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उनले बताए।

सम्मेलन सन् २०२८ मा चीनको गन्जाउमा आयोजना गर्ने निष्कर्षसहित सम्पन्न भएको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै