आजपाद्वारा सुनसरी घटनाप्रति ध्यानाकर्षण: निष्पक्ष छानबिन र क्षतिको माग
काठमाडौं।आम जनता पार्टी (आजपा)ले सुनसरी जिल्लाको देवागञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका प्रवक्ता तिलक थापा मगरले आज प्रेस वक्तव्यमार्फत सो घटनामा मृत्यु भएका २५ वर्षीय ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

गत साउन १० गते राति देवागञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा दुई पक्षबीच विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि स्थानीय ओम प्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएका थिए ।
आजपले स्थानीय प्रहरी प्रशासनले समयमै सुरक्षा सतर्कता नअपनाएका कारण दुई पक्षीय झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ। स्थानीय जनप्रतिनिधि र नागरिकहरूलाई उद्धृत गर्दै वक्तव्यमा प्रहरीले अन्धाधुन्ध गोली चलाएका कारण नै मृत्यु र चोटपटकको घटना भएको उल्लेख छ।
यो विवाद र झडपले धार्मिक तथा साम्प्रदायिक दंगाको रूप लिने खतरा बढेको र अन्य स्थानमा समेत फैलिन सक्ने भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ। स्थिति नियन्त्रण बाहिर जानु अगावै नेपाल सरकारलाई समयमै सचेत रहन, शान्ति सुरक्षा कायम गर्न र धार्मिक, साम्प्रदायिक एवं सामाजिक सद्भाव बचाउन जोडदार माग गरिएको छ।
आजपाले सरकारसंग घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, मृतकका शोक सन्तप्त परिवारलाई उचित क्षतिपूर्ति दिन, झडप र गोली लागेर घाइते भई उपचार गराइरहेका व्यक्तिहरूलाई सरकारका तर्फबाट उचित सहयोगको व्यवस्था मिलाउन माग गरिएको छ ।












