साम्राज्ञीको नयाँ फिल्म ‘एक्का मिस्सी बादशाह’ घोषणा, नायिकाको अपोजिटमा ‘बादशाह’ को खोजी
काठमाडौं।चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने नयाँ नेपाली चलचित्र ‘एक्का मिस्सी बादशाह’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा चलचित्रको शुभमुहूर्तसँगै निर्माण घोषणा गरिएको हो।
चलचित्रको घोषणा भएसँगै नेपाली फिल्म क्षेत्रमा यसको चर्चा सुरु भएको छ। कार्यक्रममा अभिनेत्री साम्राज्ञी आकर्षक अवतारमा उपस्थित भएकी थिइन्।
![]()


चलचित्रको मुख्य अभिनेत्रीका रूपमा साम्राज्ञी निश्चित भए पनि उनको अपोजिटमा देखिने अभिनेता भने अहिलेसम्म टुंगो लागिसकेको छैन। निर्माण पक्षले साम्राज्ञीसँग पर्दामा राम्रो केमेस्ट्री देखाउन सक्ने नयाँ वा स्थापित अभिनेताको खोजी भइरहेको जनाएको छ।
![]()
निर्देशक संजय राईको निर्देशनमा बन्ने चलचित्रमा प्रेमकथा, ड्रामा र थ्रिलरको मिश्रण प्रस्तुत गरिने बताइएको छ। कथाको मागअनुसार साम्राज्ञीको जोडीका रूपमा सुहाउने कलाकार छनोटका लागि अडिसन तथा छलफल अघि बढाइएको निर्माण पक्षको भनाइ छ।


चलचित्रमा आफूले फरक र चुनौतीपूर्ण भूमिका निर्वाह गर्न पाउने भएकाले उत्साहित रहेको साम्राज्ञीले बताएकी छन्। चलचित्रको छायांकन आगामी साउन–भदौदेखि सुरु गर्ने तयारी गरिएको छ।
चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण भने आगामी दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। साम्राज्ञीको अपोजिटमा को कलाकार चयन हुन्छन् भन्ने विषय अहिले नेपाली चलचित्र वृत्तमा चासोको विषय बनेको छ।














