ठगी गर्ने पोखराका ट्राभल कम्पनीका दुई सञ्चालक पक्राउ – Sagarmathapana:: Online News Portal

ठगी गर्ने पोखराका ट्राभल कम्पनीका दुई सञ्चालक पक्राउ

   २०८३ श्रावण १० गते  

पोखरा।विदेश भ्रमणका आकर्षक प्याकेजको प्रलोभन देखाउँदै सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा प्रहरीले पोखरास्थित एक ट्राभल कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखरा महानगरपालिका–५, पर्स्याङस्थित ‘ओसिस टुरिजम इन्टरनेसनल’ मा छापा मारेर कम्पनीका सञ्चालक सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगरका मोहम्मद यासेरलाई पक्राउ गरेको हो ।

प्रहरीले कम्पनीको कार्यालयबाट कम्प्युटरलगायत महत्वपूर्ण सामग्रीसमेत बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कम्पनी नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको खुलेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्डलगायत देशमा सस्तो प्याकेजमा भ्रमण गराउने भन्दै ग्राहकलाई आकर्षित गर्ने गरेको थियो । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मको प्याकेज बनाएर किस्ताबन्दीमा रकम असुल्ने र पूर्ण भुक्तानी भएपछि कम्पनी बन्द गरी सञ्चालकहरू फरार हुने योजनाअनुसार ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका डीएसपी नमराज भट्टराईका अनुसार विभिन्न आकर्षक अफर देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरिएको थियो । छापा मार्ने क्रममा कम्पनीमा कार्यरत १५ जना युवतीलाई समेत प्रहरीले फेला पारेको थियो । उनीहरूलाई आवश्यक सोधपुछ तथा सम्झाइबुझाइपछि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य दुई जना सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै