प्रोटोन ई मास फाइभ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ – Sagarmathapana:: Online News Portal

प्रोटोन ई मास फाइभ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

   २०८३ श्रावण ७ गते  

काठमाडौं।नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी ‘प्रोटोन ई मास फाइभ (e.MAS 5)’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्पनीले हालै आयोजित एक कार्यक्रममा ई मास फाइभलाई २९ लाख ९९ हजार रुपैयाँ सुरुवाती मूल्यमा सार्वजनिक गरेको हो। आधुनिक सहरी जीवनशैली र दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीले मलेसियाको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टलगायतका सुविधा उपलब्ध छन्। त्यस्तै, ७० लिटर क्षमताको अगाडिको ट्रंक (फ्रङ्क) र ३७५ लिटरको पछाडिको लगेज स्पेससहित कुल ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेको कम्पनीको भनाइ छ।

नेपाली बजारमा ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। विशेष सुरुवाती अफरअन्तर्गत पहिलो १०० जना ग्राहकका लागि प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

इच्छुक ग्राहकले देशभर रहेका प्रोटोनका आधिकारिक शोरुममा पुगेर गाडीको अवलोकन तथा बुकिङ गर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै