अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने इन्स्टिच्युटमा सिलबन्दी – Sagarmathapana:: Online News Portal

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने इन्स्टिच्युटमा सिलबन्दी

   २०८३ श्रावण ७ गते  

काठमाडौं।सिटिइभिटीबाट सीप प्रशिक्षण सञ्चालनको मात्रै अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको आरोपमा एक संस्थाको कार्यालयमा सिलबन्दी गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा अनुगमन गरी सिलबन्दी गरेको हो।

विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको मापदण्डविपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको गुनासोका आधारमा अनुगमन गरिएको जनाइएको छ। अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन तथा तोकिएका सर्तहरूको उल्लङ्घन गरेको पाइएको टोलीले जनाएको छ।

सीप प्रशिक्षणका लागि मात्रै अनुमति पाएको संस्थाले सिटिइभिटीलाई मात्र प्राप्त सीप परीक्षण तथा प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको र अनुमति प्राप्त विधाभन्दा फरक विषयमा समेत तालिम सञ्चालन गरेको भेटिएको छ।

अनुगमन टोलीले संस्थाको कार्यालयमा सिलबन्दी गर्नुका साथै आवश्यक कागजात तथा प्रमाणपत्रहरू नियन्त्रणमा लिएको छ। बरामद कागजातको अध्ययन तथा अनुसन्धानपछि संस्थामाथि थप कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै