भोलिदेखि फेरि भरी ग्यास सिलिण्डर बिक्री,उपभोक्ताले १४.२ केजीकै ग्यास पाउने
काठमाडौं।नेपाल आयल निगमले बुधबार (असार ३१) देखि देशभर पुनः १४.२ केजी क्षमताको भरी एलपी ग्यास सिलिण्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएपछि साविककै व्यवस्था लागू गरिएको जनाएको हो।
यसअघि ग्यास आपूर्तिमा देखिएको असहज अवस्था र बजारमा बढेको मागका कारण निगमले ७.१ केजी (आधा) ग्यास सिलिण्डर बिक्री–वितरणको व्यवस्था गरेको थियो। अब भने पूर्ण क्षमताको १४.२ केजी ग्यास सिलिण्डर प्रतिगोटा २ हजार ६० रुपैयाँ मा बिक्री गरिनेछ।
निगमका अनुसार ७.१ केजीका सिलिण्डर पूर्ण रूपमा बजारबाट प्रतिस्थापन नभएसम्म केही समय दुवै प्रकारका सिलिण्डर बजारमा उपलब्ध हुन सक्नेछन्। त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिण्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।












