कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं।आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कमला मिस’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले आमा–बालकबीचको गहिरो माया, त्याग र भावनात्मक संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गर्दै चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ।
सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य समेटिएको छ। यसले चलचित्रको कथा पारिवारिक संवेदना, मनोवैज्ञानिक द्वन्द्व र सामाजिक यथार्थसँग जोडिएको संकेत गर्छ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित यस चलचित्रमा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्माण टिमका अनुसार चलचित्रले परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेर दर्शकलाई भावनात्मक यात्रा गराउने प्रयास गरेको छ। पोस्टर सार्वजनिक भएसँगै चलचित्रको प्रचार अभियान पनि औपचारिक रूपमा सुरु भएको छ।












