स्टन्टबाजी गर्न होइन, देश र जनताको सेवा गर्न आएको हुँ : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं।गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई देश र जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले संसद्मा केवल चर्को स्वरमा बोल्दैमा जनताको हित नहुने उल्लेख गर्दै काम गरेर देखाउनुपर्नेमा जोड दिए।
उनले सांसदहरूलाई सम्बोधन गर्दै भने, “घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर पनि हुँदैन। त्यो मुखले बोलेको ५० वर्ष भइसक्यो। अब हामीले हातले काम गरेर देखाउनुपर्छ।

गृहमन्त्री गुरुङले जनताको सेवा उनीहरूमाझ पुगेर गर्नुपर्ने बताउँदै त्यसलाई स्टन्टबाजीको रूपमा व्याख्या गर्नु उचित नभएको धारणा राखे।
“म कसैका लागि स्टन्टबाजी गर्न आएको होइन। म आफ्नो देश र जनताको सेवा गर्न आएको हुँ,” उनले स्पष्ट पारे।













