काठमाडौँ महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन सर्वसम्मत पारित
काठमाडौं।काठमाडौँ महानगरपालिकाको १९औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। जेठ ३१ गतेदेखि सुरु भएको अधिवेशन शुक्रबार बसेको छैटौँ तथा अन्तिम बैठकसँगै औपचारिक रूपमा टुंगिएको हो।
अन्तिम बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा प्रस्तुत भएका विभिन्न संशोधन विधेयक तथा न्यायिक, लेखा र सुशासन समितिका वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ। विधायन समितिले जनस्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, विवाद निरुपण, कर्मचारी सेवा शर्त, महानगर प्रहरी ऐन तथा भवन निर्माण मापदण्डसम्बन्धी संशोधन प्रस्ताव सभामा प्रस्तुत गरेको थियो।
नगरसभा सदस्यहरूले संशोधन प्रस्तावमाथि सुझाव र धारणा राखेपछि कार्यवाहक प्रमुख तथा सभाध्यक्ष सुनिता डंगोलले निर्णयार्थ प्रस्ताव पेश गर्नुभएको थियो। सबै प्रस्ताव सर्वसम्मत पारित भएपछि उहाँले नगरसभा अधिवेशन सम्पन्न भएको घोषणा गर्नुभयो।
समापनका क्रममा डंगोलले स्वीकृत नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी महानगरवासीको हित, सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो।
यसअघि अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट, आर्थिक विधेयक, विनियोजन विधेयक तथा ११ क्षेत्रका १०१ बुँदामा आधारित नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिसकेको थियो। महानगरले आगामी आर्थिक वर्षमा सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।












