स्टार्टअप वर्ल्ड कप नेपाल २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी – Sagarmathapana:: Online News Portal

स्टार्टअप वर्ल्ड कप नेपाल २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

   २०८३ असार २५ गते  

काठमाडौं।नेपालमा स्टार्टअप र डिजिटल उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ आयोजना गर्न रणनीतिक साझेदारी सम्झौता भएको छ।

सम्झौताअनुसार क्यान महासंघले प्रतियोगिताको स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर का रूपमा भूमिका निर्वाह गर्नेछ। सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन्।

साझेदारीमार्फत नेपालभरका नवप्रवर्तनकारी युवा र स्टार्टअपहरूलाई पहिचान गर्दै प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन, अनुभवी मेन्टरसँग जोड्ने, स्वदेशी तथा विदेशी लगानीकर्तासँग पहुँच विस्तार गर्ने तथा विश्वस्तरीय अवसर उपलब्ध गराउने लक्ष्य लिइएको छ।

राजन कँडेलले नवप्रवर्तन र उद्यमशीलता नेपालको आर्थिक समृद्धिका प्रमुख आधार भएको उल्लेख गर्दै यो सहकार्यले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र अन्तर्राष्ट्रिय अवसरसम्म पहुँच दिलाउने बताए। क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले पनि सहकार्यले देशभर नवप्रवर्तनको वातावरण सिर्जना गर्दै नेपाली प्रविधि उद्यमीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

स्टार्टअप वर्ल्ड कप विश्वव्यापी भेन्चर क्यापिटल कम्पनी पेगासस टेक भेन्चर्सद्वारा आयोजना हुने प्रतिष्ठित स्टार्टअप प्रतियोगिता हो, जुन ६० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको छ।

नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। साथै, विश्वस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट भए १० लाख अमेरिकी डलर (१ मिलियन डलर) सम्मको लगानी पुरस्कार प्राप्त गर्ने सम्भावना रहनेछ।

आयोजकका अनुसार यो पहलले नेपाली स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउनुका साथै डिजिटल अर्थतन्त्र, रोजगारी सिर्जना र ‘ब्रान्ड नेपाल’लाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै