सरकारको नयाँ कडाइ : कार्यालयबाट बाहिर निस्कन अनुमति अनिवार्य,टिकटक र बाहिर भेटघाटमा रोक
काठमाडौं।भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनुशासन, सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रीस्तरबाट २०८३ असार १६ गते स्वीकृत “मन्त्रालयका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३” अनुसार कर्मचारीका गतिविधिमाथि थप कडाइ गरिएको हो।
नयाँ आचारसंहिताअनुसार कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोशाक लगाएर व्यक्तिगत प्रयोजनका लागि टिकटक, फेसबुक, भिडियो वा फोटो बनाएर सामाजिक सञ्जालमा राख्न पाइने छैन। कार्यालय समयबाहेक पनि सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। कर्मचारीले आफ्ना गुनासा सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाई मन्त्रालयको गुनासो सुनुवाइ संयन्त्र वा सम्बन्धित अधिकारीमार्फत राख्नुपर्नेछ।

त्यसैगरी, सेवाग्राही वा सरोकारवालासँग कार्यस्थल बाहिर चिया पसल, रेष्टुरेन्ट वा अन्य स्थानमा भेटघाट गर्न रोक लगाइएको छ। अधिकारीको स्वीकृतिविना कुनै उपहार वा आतिथ्यता स्वीकार गर्न नपाइने तथा निजी स्वार्थ जोडिने निर्णय प्रक्रियाबाट कर्मचारी टाढा रहनुपर्ने उल्लेख गरिएको छ।
कार्यालय समयमा बाहिर जानुपरेमा सुपरिवेक्षकको अनुमति लिएर अनिवार्य रूपमा लगबुकमा विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। कार्यालयमा परिचयपत्र र तोकिएको पोशाक अनिवार्य लगाउनुपर्ने, सरकारी सम्पत्तिको दुरुपयोग गर्न नपाइने तथा आफ्नो नाममा रहेको बेरुजु समयमै फर्छ्यौट गर्नुपर्ने प्रावधान पनि आचारसंहितामा समावेश गरिएको छ।

सेवा प्रवाहका क्रममा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका र सीमान्तकृत समुदायलाई प्राथमिकता दिनुपर्ने तथा धर्म, जात, लिङ्ग वा आस्थाका आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न नपाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव वा निजले तोकेको अधिकृतबाट आचारसंहिताको नियमित अनुगमन गरिने व्यवस्था गरिएको छ। मन्त्रालयले यसलाई व्यावसायिक, उत्तरदायी र सेवामुखी प्रशासन निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै सेवामा ढिलासुस्ती, अनुशासनहीनता र कार्यालय समयको दुरुपयोग नियन्त्रण गर्न आचारसंहिता प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।












