अदालतबाट छुटेलगत्तै अभिषेक गिरी पुनः पक्राउ,सीआईबीले रातारात काठमाडौं लग्यो
काठमाडौं।मोरङ जिल्ला अदालतबाट थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः नियन्त्रणमा लिएर काठमाडौं लगेको छ। अदालतले अनुसन्धान प्रक्रिया जारी राख्दै थुनाबाहिरबाट मुद्दा अघि बढाउन आदेश दिएलगत्तै गिरीलाई सोमबार राति पक्राउ गरी विमानमार्फत काठमाडौं लगिएको हो।
जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता तथा आर्थिक कारोबारमा अनियमितता गरेको आरोपमा पक्राउ परेका गिरीलाई मोरङ जिल्ला अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो। तर अदालतबाट छुटेलगत्तै सीआईबीले उनीविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका आधारमा पुनः नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार अदालतको आदेशपछि गिरीलाई सुरक्षा घेराबीच कारागारबाट बाहिर निकालेर सिधै विराटनगर विमानस्थल पुर्याइएको थियो। त्यसपछि रातिको उडानमार्फत उनलाई काठमाडौं ल्याइएको हो।
सीआईबीले गिरीमाथि कारागारभित्र र बाहिर सञ्चालन भएको भनिएको आर्थिक सञ्जाल, कैदीबन्दीबाट रकम असुली तथा शंकास्पद वित्तीय कारोबारबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि पनि गिरीमाथि मोरङ कारागारका कैदीबन्दीको भत्ता तथा अन्य रकम दुरुपयोग गरेको आरोपमा अनुसन्धान सुरु गरिएको थियो।
गिरीको पुनः पक्राउसँगै उनको मुद्दाले नयाँ मोड लिएको छ भने आगामी दिनमा सीआईबीको अनुसन्धानले थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।












