कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन – Sagarmathapana:: Online News Portal

कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

   २०८३ असार २२ गते  

विराटनगर।गृहमन्त्री सुधन गुरुङ ले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमणमा परेको सरकारी जग्गा तत्काल खाली गराई कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

आइतबार साँझ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगै अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले सरकारी तथा सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गर्दै अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा विभिन्न सङ्घसंस्थाले अस्पतालको जग्गा लामो समयदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको जानकारी पाएपछि गृहमन्त्री गुरुङ स्वयं टोलीसहित अस्पताल परिसरको वस्तुस्थिति बुझ्न पुगेका थिए।

अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन १५ दिनको समयसीमा दिएको भए पनि उक्त अवधि सकिँदासमेत अतिक्रमण हटाउने काम नभएपछि मन्त्रीद्वयले आकस्मिक अनुगमन गरेका हुन्।

गृहमन्त्री गुरुङले सरकारी सम्पत्तिको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै अतिक्रमण हटाउने कार्यमा कुनै ढिलाइ नगर्न र कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

सरकारले सार्वजनिक जग्गा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेको सन्दर्भमा कोशी अस्पतालको अतिक्रमित क्षेत्र खाली गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै