कंगाल करोडपति’बाट नेपाली फिल्ममा सलिना तामाङको डेब्यू,मुकुन भुसालसँग पहिलो सहकार्य
काठमाडौं-अभिनेत्री सलिना तामाङ आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्ने भएकी छन्। निर्देशक राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी अभिनेता मुकुन भुसालको अपोजिट मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी हुन्।
निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। ‘कंगाल करोडपति’मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन्, जसले दर्शकमाझ नयाँ जोडीको रूपमा उत्सुकता बढाएको छ।
फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो अभिनय यात्राको सुरुआतका लागि उपयुक्त परियोजना भएको बताएकी छन्। उनले फिल्ममा अभिनय गर्ने अवसर पाउँदा अत्यन्तै खुसी लागेको उल्लेख गर्दै दर्शकबाट माया र साथको अपेक्षा व्यक्त गरेकी छन्।

सलिनाले भारतको मुम्बईमा अभिनय प्रशिक्षण लिएकी छन्। निर्माण पक्षका अनुसार उनले बलिउडका अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवसँग अभिनय सिकेकी हुन्, जसको अनुभवले उनको डेब्यूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
‘कंगाल करोडपति’को कथा सुमन गजमेरले लेखेका हुन् भने फिल्मको छायांकन र प्रदर्शन मिति भने निर्माण टिमले पछि सार्वजनिक गर्ने जनाएको छ।












