तामाङ समाज यूएईले ‘SMS धमाका–९’ आयोजना गर्ने, शिक्षा सहयोगका लागि रकम संकलन गरिने
दुबई।शिक्षाका लागि समाज” भन्ने मूल नाराका साथ तामाङ समाज यूएईले आफ्नो लोकप्रिय सांगीतिक तथा सामाजिक कार्यक्रम SMS धमाकाको नवौं शृंखला (Season 9) आयोजना गर्ने भएको छ।
समाजले विगत वर्षहरूझैं यस वर्ष पनि संगीत, मनोरञ्जन र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्दै कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रमबाट संकलित रकम समाजले सञ्चालन गर्दै आएको Support My School अभियानमार्फत नेपालका दुर्गम तथा आर्थिक रूपमा विपन्न समुदायका विद्यार्थीहरूको शैक्षिक विकासमा खर्च गरिने समाजका अध्यक्ष सुरेन तामाङले जानकारी दिए।


उनका अनुसार कार्यक्रम आगामी ५ जुन मा दुबईस्थित क्लब SK7 को प्रेक्षालयमा आयोजना हुनेछ। कार्यक्रममा नेपालबाट आमन्त्रित तामाङ सेलोका वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ को विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै यूएईमा रहेका स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।
तामाङ समाज यूएईले यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपाली समुदायलाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वमा जोड्ने र नेपालका विपन्न विद्यार्थीहरूको शिक्षामा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।













