धरानको स्मार्ट बसपार्क सञ्चालनमा,भित्र के–के सुविधा छन्?
निमा पोङ्स्युवा
धरान।लामो प्रतीक्षापछि धरान–८ स्थित तिनकुने सुदूरवस्ती जग्गा विकास आयोजनाभित्र निर्माण गरिएको स्मार्ट बसपार्क (बस टर्मिनल) सञ्चालनमा आएको छ।
करिब २४ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको बसपार्कमा यात्रु, यातायात व्यवसायी तथा सर्वसाधारणलाई लक्षित आधुनिक सुविधाहरू समावेश गरिएको इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिएका छन्।
इन्जिनियर श्रेष्ठले प्रस्तुत गरेको विवरणअनुसार बसपार्क तिनकुने सुदूरवस्ती जग्गा विकास आयोजना अन्तर्गत करिब २७ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको हो। आयोजनाको केही दक्षिण–पश्चिम भाग सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण निर्माण हुन नसके पनि बाँकी संरचना सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ।


यस्तो छ बस टर्मिनलको संरचना
– बसपार्कमा बेसमेन्टसहित तीन तले भवन निर्माण गरिएको छ।
– बेसमेन्ट (१,८४० वर्गमिटर):
पार्किङ सुविधा
-२ वटा सवारी प्रवेश र्याम्प
– २ वटा पैदल प्रवेशद्वार
– भविष्यमा लिफ्ट जडान गर्न मिल्ने व्यवस्था
– भुइँतला (१,८४० वर्गमिटर):
– करिब १०५ सिट क्षमताको यात्रु प्रतीक्षालय
– २५ वटा टिकट काउन्टर
– एटीएम बुथ
– सीसीटीभी तथा सुरक्षा कक्ष
– महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय
– प्राथमिक उपचार कक्ष
– मिनीमार्ट
– भाडामा सञ्चालन गर्न मिल्ने खुला व्यापारिक स्थान तथा कोठाहरू
पहिलो तला (१,८४० वर्गमिटर):
– १४ वटा व्यापारिक सटर
– शौचालयसहित १२ वटा लज कोठा
– रेष्टुरेन्ट तथा किचन
– कफी सप
– भाडामा सञ्चालन गर्न सकिने व्यापारिक क्षेत्र
– बसपार्क व्यवस्थापन कार्यालय
– बाहिरी क्षेत्रमा के–के छन्?
– बसपार्कको बाहिरी भागमा:
सतही पार्किङ
– ३६ वटा ठूला बस पार्किङ क्षमता
– ४८ वटा जीप पार्किङ क्षमता
– ८० हजार लिटर क्षमताको पानी तथा अग्नि नियन्त्रण ट्याङ्की
– महिला तथा पुरुषका लागि सार्वजनिक शौचालय निर्माण गरिएको छ।
यति लाग्यो लागत
इन्जिनियर श्रेष्ठका अनुसार,
लागत अनुमान: रु. ३३ करोड ७० लाख ७४ हजार २३२.६५
प्रारम्भिक ठेक्का सम्झौता: रु. २५ करोड ४१ लाख ६७ हजार ३१९.१०
परिमार्जित ठेक्का रकम: रु. २४ करोड ९१ लाख ३ हजार ९५८.१७ कुल खर्च: रु. २४ करोड ८६ लाख ९ हजार १४८.८८

निर्माण प्रक्रिया
आयोजनाको ठेक्का सम्झौता २०७८ असार ३० गते भएको थियो। सोही दिनबाट निर्माण सुरु गरिएको थियो। सर्वोच्च अदालतको स्टे अर्डरका कारण सुरुगमा ६ महिना र त्यसपछि ३ महिना, गरी कुल ९ महिना म्याद थप गरिएको थियो। अन्ततः आयोजना ३ वर्ष १ महिनामा सम्पन्न भएको हो।
निर्माण कार्यको जिम्मा विकोई पिताम्बर जेभी, दुहबी (सुनसरी) ले पूरा गरेको हो।
धरान उपमहानगरपालिकाले अब नयाँ बसपार्क सञ्चालनसँगै सवारी व्यवस्थापन, यात्रु सेवा र व्यापारिक गतिविधिलाई व्यवस्थित बनाउने अपेक्षा गरेको छ। आधुनिक पूर्वाधारसहित निर्माण गरिएको यो बस टर्मिनलले धरानको सार्वजनिक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

बस चालकलाई फुलमाला
धरान–८ स्थित नयाँ स्मार्ट बसपार्कबाट सार्वजनिक यातायात सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन समारोहमा पहिलोपटक बसपार्कबाट सेवा दिने बसका चालकलाई फूलमालाले स्वागत गर्दै यात्राको शुभारम्भ गरिएको हो।
उद्घाटनका क्रममा बसपार्क परिसरबाट छुट्ने बसका चालकलाई अतिथिहरूले फूलमाला लगाएर सम्मान गरेका थिए। त्यसपछि बसलाई बिदाइ गर्दै नयाँ बसपार्कबाट नियमित सेवा सुरु गरिएको थियो।
नयाँ बसपार्क सञ्चालनमा आएसँगै अब लामो तथा छोटो दूरीका सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, यात्रुलाई सुरक्षित तथा सहज सेवा उपलब्ध गराउने र शहरको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
धरान उपमहानगरपालिकाले आधुनिक पूर्वाधारसहित निर्माण गरेको बस टर्मिनलमा यात्रु प्रतीक्षालय, टिकट काउन्टर, पार्किङ, सार्वजनिक शौचालय, सुरक्षा कक्ष, व्यापारिक सटर, लज, रेष्टुरेन्टलगायतका सुविधा उपलब्ध छन्।
बस चालकलाई फूलमालासहित सम्मान गर्दै गरिएको उद्घाटनलाई यातायात व्यवसायी र स्थानीयले नयाँ बसपार्क सञ्चालनको सुखद सुरुवातका रूपमा लिएका छन्।












