सनिशा भट्टराई ‘जिरो डिग्री’मा अनुबन्धित, विजय बरालसँग पहिलोपटक जोडी जमाउँदै
काठमाडौं ।नेपाली फिल्म क्षेत्रमा उदाउँदो अभिनेत्री सनिशा भट्टराई आगामी डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ मा मुख्य भूमिकामा देखिने भएकी छन्। फिल्ममा उनी चर्चित अभिनेता विजय बरालको अपोजिट अभिनय गर्दै पहिलोपटक जोडी बाँध्दैछिन्।
म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी सनिशाले फिल्म ‘१२ गाउँ’ मार्फत ठूलो चर्चा कमाएकी थिइन्। उक्त फिल्मको सफलतापछि उनी नेपाली फिल्म उद्योगमा सम्भावनाशील नयाँ अभिनेत्रीका रूपमा स्थापित हुँदै गएकी हुन्। त्यसपछि उनले ‘नरसिंहा: अवतार’ मा अभिनय गर्दै आफ्नो अभिनय यात्रालाई निरन्तरता दिएकी छन्।
फिल्मसँगै रंगमञ्चमा पनि सक्रिय रहेकी सनिशाले पारिजातको चर्चित कृतिमा आधारित नाटक ‘शिरीषको फूल’ बाट रंगमञ्चमा डेब्यु गरेकी थिइन्। उक्त नाटकमा उनले ‘सकम्बरी’ पात्रको भूमिका निर्वाह गर्दै आफ्नो अभिनय क्षमता प्रस्तुत गरेकी थिइन्।
संयुक्त रूपमा आकाश बराल र साजन काफ्लेले निर्देशन गर्ने ‘जिरो डिग्री’ वैदेशिक रोजगारीमा रहेका सन्तानले गाउँमा रहेका आफ्ना दिवंगत अभिभावकको शव सुरक्षित राख्न ‘डीप फ्रिज’ पठाएपछि उत्पन्न हुने घटनाक्रममा आधारित डार्क कमेडी फिल्म हो। निर्माण टोलीका अनुसार फिल्मको छायांकन सम्पन्न भइसकेको छ र यसलाई यसै वर्षको दशैंअघि प्रदर्शन गर्ने तयारी गरिएको छ।












