बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटको ४५ लाख बजेट, बाली हेरालु राखिने
खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ले बाँदर तथा अन्य वन्यजन्तुबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
१५औँ नगरसभामार्फत प्रस्तुत बजेटमा किसानलाई राहत दिलाउने उद्देश्यले प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने व्यवस्था गरिएको छ। नगरपालिकाका अनुसार बाँदरको बढ्दो आतंकका कारण किसानले भोग्दै आएको समस्या समाधानका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो।


नगर उपप्रमुख विशन राई ले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। आगामी आर्थिक वर्षका लागि नगरपालिकाले कुल १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।
नगरपालिकाले कृषि उत्पादन वृद्धि, किसानको संरक्षण तथा वन्यजन्तुबाट हुने क्षति नियन्त्रणलाई केन्द्रमा राखेर कार्यक्रमहरू अघि बढाउने जनाएको छ। स्थानीय किसानले भने बाँदर नियन्त्रणका लागि ल्याइएको योजनाले खेतीपाती जोगाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।














