‘लिटल शाइनिङ स्टार’ आयोजना हुँदै – Sagarmathapana:: Online News Portal

‘लिटल शाइनिङ स्टार’ आयोजना हुँदै

   २०८३ असार ९ गते  

काठमाडौं।बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता, व्यक्तित्व विकास तथा आत्म-अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘लिटल शाइनिङ स्टार’ नामक विशेष पेजेन्ट प्रतियोगिताको दर्ता खुला गरिएको छ।

अल्फा इभेन्ट्स अफिसियल्सको आयोजनामा हुन लागेको यस प्रतियोगितामा केटा तथा केटी दुवै सहभागी हुन सक्नेछन्। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन कुनै अघिल्लो पेजेन्ट अनुभव आवश्यक नपर्ने भएकाले इच्छुक सबै बालबालिकाले सहभागिता जनाउन सक्नेछन्।

कार्यक्रमअन्तर्गत सहभागीहरूलाई व्यक्तित्व विकास तथा ग्रुमिङ प्रशिक्षण, र्याम्प वाक र स्टेज प्रस्तुति सम्बन्धी तालिम, सञ्चार तथा सार्वजनिक वक्तृत्वकला विकासका कक्षा प्रदान गरिनेछ। साथै व्यावसायिक फोटोसुट र मेकअप, सहभागिता प्रमाणपत्र तथा विभिन्न क्षेत्रका प्रशिक्षक र उद्योगसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्ने अवसरसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि प्रशिक्षण शुल्क पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ, जसमा व्यावसायिक फोटोसुट र मेकअपको सुविधा समेत समावेश रहेको बताइएको छ। आयोजकका अनुसार यसबाहेक कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

प्रतियोगिताका विजेताहरूले आधिकारिक क्राउन र स्यास, एक लाख रुपैयाँसम्मको पुरस्कार कोषबाट सम्मान, फोटो तथा भिडियो पोर्टफोलियो निर्माणको अवसर, मिडिया तथा प्रवर्द्धनात्मक एक्सपोजर, विभिन्न सहकार्यका अवसर र उपलब्धि प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस प्रतियोगिताको अडिसन आगामी असार १३ गते शनिबार बिहान ११ बजे पुरानो बानेश्वरस्थित अम्बिका मार्गमा रहेको कारोबार रेस्टुरेन्ट (टिप्सी बाम्बु), राजधानी कलेजको विपरीततर्फ आयोजना हुने भएको छ।

आयोजकले बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ इच्छुक अभिभावक तथा सहभागीलाई समयमै आवेदन दिन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै