‘द टेस्ट अफ सेलरोटी’ मञ्चन सुरु, स्मृति र सम्बन्धको भावनात्मक कथा प्रस्तुत
काठमाडौं- टेकुस्थित कथा घेरा अन्तर्गतको कौशी थिएटरले स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा नयाँ नाटक ‘द टेस्ट अफ सेलरोटी’ को मञ्चन सुरु गरेको छ।
लेखक, डिजाइनर तथा निर्देशक मिल्सन डी. चाम्लिङ को परिकल्पना र निर्देशनमा तयार भएको नाटक असार ७ गतेदेखि नियमित प्रदर्शनमा आएको हो।


दुई कलाकारको अभिनय रहेको यस नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा जोड्दै दर्शकमाझ प्रस्तुत गरेको छ। मिथक, कला, विभिन्न भाषा तथा बोली र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका अनुभूतिलाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको निर्देशकको भनाइ छ।
नाटकमा कलाकार वेदना राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराईले सम्हालेकी छन् भने पृष्ठभूमि संगीत अनुराग कोइँचले तयार पारेका छन्।

‘द टेस्ट अफ सेलरोटी’ असार २८ गतेसम्म मङ्गलवार बाहेक प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।
मानवीय सम्बन्ध, बिछोड, शोक र आकाङ्क्षाका विषयवस्तुलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको यो नाटकले दर्शकलाई समय, स्मृति र अनुभूतिको यात्रामा लैजाने अपेक्षा गरिएको छ।













